जलवायु संकटबारे विश्वव्यापी भाष्य परिवर्तन गर्ने नेपालको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

काठमाडौँ । नेपालले जलवायु परिवर्तनको प्रभावबारे विश्वव्यापी भाष्य परिवर्तन गर्ने गरी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा मुद्दा उठाउने तयारी गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु संकट नेपालजस्ता जोखिमयुक्त देशको मात्र समस्या नभई विश्वकै साझा समस्या भएको सन्देश दिन यसपटक नयाँ ढंगले विषय उठाइने बताए ।

उनका अनुसार जलवायु परिवर्तनको मुद्दा वैज्ञानिक प्रमाणसहित प्रस्तुत गर्दै जलवायु न्याय, दीर्घकालीन जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाउने विषयमा नेपालले जोड दिनेछ । जलवायु जोखिमका नाममा ऋणको बोझ थपिने अवस्थाप्रति पनि नेपाल सचेत रहेको उनले बताए ।

भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रको ल्हेन्दे–भोटेकोशीमा आएको विनाशकारी बाढीलाई जलवायु संकटसँग जोडेर अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने नेपालको तयारी छ । बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो क्षति भएको थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने जनाइएको छ । प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका जाने, असोज ८ गते महासभालाई सम्बोधन गर्ने र असोज ९ गते स्वदेश फर्किने कार्यक्रम छ । परराष्ट्रमन्त्री खनाल भने असोज ४ गते अमेरिका जाने र असोज १४ गते फर्किने तालिका रहेको मन्त्रालयले जनाएको छ ।

महासभामा नेपालले ‘जलवायु न्याय’ र ‘माउन्टेन एजेन्डा’लाई मुख्य प्राथमिकतामा राख्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । साथै, ग्रीन क्लाइमेट फन्ड, ‘लस एण्ड ड्यामेज फन्ड’ लगायतका अन्तर्राष्ट्रिय संयन्त्रबाट थप स्रोत जुटाउने विषयमा पनि नेपालले पहल गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *