ओलीकै निवासमा एमाले नेतृत्वबारे छलफल, अध्यक्ष पद छाड्न दबाब

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १

काठमाडौं । नेकपा एमालेभित्र पार्टी पुनर्गठन र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे विवाद चर्किएको छ । ओली बस्दै आएको गुन्डुस्थित निवासमा बिहीबार पनि शीर्ष नेताहरूबीच यस विषयमा छलफल भइरहेको छ ।

बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भानुभक्त ढकाल र विष्णु रिमाललगायत नेता सहभागी छन् ।

पार्टी स्रोतका अनुसार ओलीले पार्टी पुनर्गठनका अधिकांश एजेन्डामा सहमति जनाउने संकेत गरे पनि अध्यक्ष पद भने नछाड्ने अडान राखेका छन् । कार्यदलले तयार पारेको प्रतिवेदनमा अध्यक्षले नेतृत्व छाड्नुपर्ने प्रस्ताव समेटिएपछि नेताहरूबीच मतभेद देखिएको छ ।

महासचिव पोखरेलले कार्यादेशअनुसार तयार गरिएको प्रतिवेदन फिर्ता नलिने अडान राखेका छन् । उपाध्यक्ष थापाले भने प्रतिवेदनमा लिखित खण्डन दर्ज गरेका छन् । यही विषयमा कार्यदलभित्र समेत विवाद कायम छ ।

यसैबीच, उपाध्यक्ष विष्णु पौडेल ओलीलाई निरन्तर अध्यक्षका रूपमा अघि बढाउने विषयमा नरम देखिएको स्रोतको दाबी छ । ओलीको नेतृत्व परिवर्तनको पक्षमा पोखरेलसहित गोकर्ण विष्ट, रघुजी पन्त, योगेश भट्टराई, रघुवीर महासेठ, खगराज अधिकारी, छविलाल विश्वकर्मा, राजन भट्टराई र हिक्मत कार्कीलगायत नेता रहेको बताइएको छ ।

ओलीको पक्षमा भने रामबहादुर थापा, शेरधन राई र महेश बस्नेत स्पष्ट रूपमा उभिएका छन् । विष्णु पौडेलले पनि ओलीलाई साथ दिने संकेत गरेको बताइएको छ ।

असोज ५ देखि ७ गतेसम्म बोलाइएको केन्द्रीय कमिटी बैठकअघि नेतृत्वभित्र सहमति जुटाउने प्रयास भइरहेको छ । सहमति नजुटे बैठक सार्न सकिने सम्भावनासमेत रहेको नेताहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *