मकवानपुर । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै जाँदा पार्टीका दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्ने परिस्थिति बनेको छ । केन्द्रदेखि तल्लो तहसम्म देखिएको ध्रुवीकरणको प्रभाव बागमती प्रदेशमा समेत तीव्र रूपमा देखिन थालेको छ ।
पार्टीको वैधानिकता र केन्द्रीय कार्यसमितिसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला दुवै पक्षले आ–आफ्नै महाधिवेशन कार्यतालिका सार्वजनिक गरेका छन् । यसले वडा, पालिका, क्षेत्र र जिल्ला तहमा अधिवेशन तथा प्रतिनिधि व्यवस्थापनमा समेत जटिलता थपिएको छ ।
संस्थापन पक्षले बाढी–पहिरोका कारण तल्लो तहका अधिवेशनको कार्यतालिकामा केही परिमार्जन गरे पनि केन्द्रीय महाधिवेशन तोकिएकै समयमा गर्ने तयारी गरेको छ । संस्थापन पक्षको कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते गाउँ/नगरपालिका अधिवेशन र असोज १० गते क्षेत्रीय अधिवेशन गर्ने उल्लेख छ । केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तयारी छ ।
यता, शेरबहादुर देउवा समूहले तल्लो तहका अधिवेशन असोज १५ गतेदेखि सुरु गरी केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने घोषणा गरेको छ । देउवा समूहले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत खटाइसकेको जनाएको छ ।
बागमतीमा थपियो शक्ति संघर्ष
दुई समूहले छुट्टाछुट्टै महाधिवेशनको तयारी थालेपछि बागमती प्रदेशमा कांग्रेसभित्रको शक्ति समीकरण थप पेचिलो बनेको छ । प्रदेशमा नेताहरूबीचको पुरानो आन्तरिक द्वन्द्वसँगै नयाँ राजनीतिक समीकरणसमेत बन्न थालेका छन् ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ अहिले तुलनात्मक रूपमा मध्यमार्गी भूमिकामा देखिएका छन् । दुवै नेता देउवा समूहसँग निकट रहे पनि उनीहरूबीचको आन्तरिक प्रतिस्पर्धा पुरानै हो ।
विशेष महाधिवेशनका क्रममा बानियाँ गगन थापा पक्षतिर खुलेका थिए भने मकवानपुरमा पराजित भएपछि डिना पुनः देउवा समूहमा फर्किएकी थिइन् । उनीहरूबीचको पुरानो शक्ति संघर्षले बागमती कांग्रेसको समीकरणमा समेत प्रभाव पारिरहेको नेताहरू बताउँछन् ।
यसैगरी, बानियाँ र सहमहामन्त्री बहादुरसिंह लामाबीच मुख्यमन्त्रीको विषयलाई लिएर यसअघि देखिएको तिक्तता अझै पूर्ण रूपमा समाधान भएको छैन । दुवै नेता गगन थापा पक्षमा देखिए पनि प्रदेशमा उनीहरूको आ–आफ्नै राजनीतिक प्रभाव कायम छ ।
अर्कोतर्फ, देउवा समूहको प्रभाव बलियो बनाउन निवर्तमान केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, कुन्दनराज काफ्ले, शिव हुमागाईंलगायतका नेता जिल्ला–जिल्लामा सक्रिय भएका छन् । उनीहरूलाई बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र वादेलगायतका नेताको साथ रहेको बताइएको छ ।
देउवा समूहले बागमतीका विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत तोकेको छ । सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, दोलखामा कुन्दनराज काफ्ले, रामेछापमा पूर्णमान तामाङ ‘कान्छाराम’, काभ्रेमा गणेश लामा, चितवनमा कञ्चनचन्द्र वादे, ललितपुरमा मदनबहादुर अमात्य र काठमाडौंमा कल्याणी रिजाललाई जिम्मेवारी दिइएको छ ।
विवाद समाधान गर्नुपर्नेमा नेताहरूको जोड
कांग्रेसका केही नेताहरूले समानान्तर रूपमा महाधिवेशन सञ्चालन गर्दा पार्टीको संगठन नै कमजोर बन्न सक्ने भन्दै दुवै पक्षका कार्यतालिका तत्काल रोक्नुपर्ने बताएका छन् । उनीहरूले पार्टीलाई विभाजनको दिशामा जान नदिन नेतृत्व तहमा निर्णायक संवाद आवश्यक रहेको बताएका छन् ।
बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा निवर्तमान केन्द्रीय सदस्यहरू श्याम घिमिरे, मीनबहादुर विश्वकर्मा, राधा घले, सुशीला थिङ र गणेश लामालगायतका नेता पार्टीभित्र एकताको पक्षमा देखिएका छन् ।
निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले भने कांग्रेसभित्र अधिवेशन र नेतृत्व चयनलाई लिएर बहस भए पनि ठूलो समस्या नरहेको दाबी गरेका छन् । उनले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने र संवाद तथा समन्वयबाट विवाद समाधान गर्न सकिने बताए ।
काफ्लेका अनुसार पार्टीका विभिन्न तहमा देउवा पक्षको बलियो र संगठित उपस्थिति रहेको छ । अधिवेशनमा देखिने प्रतिस्पर्धालाई पार्टी सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने उनको भनाइ छ ।
यता, कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र वादेले हालको महाधिवेशन कार्यतालिकाले केन्द्रदेखि जिल्लासम्म थप समस्या उत्पन्न गर्न सक्ने बताएका छन् । वडा तहबाटै सुरु भएको शक्ति संघर्षले महाधिवेशनका प्रक्रिया सहज रूपमा अघि बढाउन चुनौती थपेको उनको भनाइ छ ।
वादेले पार्टीभित्र देखिएका विवादलाई विधि र विधानअनुसार समाधान गर्नुपर्नेमा जोड दिए । विधि र विधान मिचेर अघि बढ्दा पार्टीलाई थप क्षति पुग्ने भन्दै उनले बागमतीमा देखिएको असन्तुष्टिलाई समयमै व्यवस्थापन गर्नुपर्ने बताए ।
‘विधि विधानभन्दा माथि कोही छैन’
कांग्रेस केन्द्रीय सदस्य जितनारायण श्रेष्ठले पार्टीको विधि र विधानभन्दा माथि कोही पनि नरहेको बताएका छन् । विशेष अधिवेशन तथा पार्टीको आन्तरिक विवाद समाधान पनि वैधानिक प्रक्रियाबाटै हुनुपर्ने उनको भनाइ छ ।
‘पार्टीको विधि विधानभन्दा माथि त कोही पनि छैन नि । विधि विधान त हरेकले मान्नुपर्छ । विधि विधानअनुसार भएको कुरालाई नमान्ने हो भने पार्टी कहाँ रहन्छ र ? यो क्लब त होइन नि,’ श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय कार्यालयबाट वैधानिक प्रक्रियाअनुसार ७० जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ । अर्को पक्षले गरिरहेको गतिविधि भने पार्टीको नीति, निर्देशन र निर्देशिकाविपरीत रहेको उनको दाबी छ ।
पार्टीभित्रको विवाद समाधानका लागि नेतृत्व तहमा लचकता अपनाउन सुझाव दिइएको भन्दै श्रेष्ठले पार्टी विभाजन हुन नदिन सभापति र शीर्ष नेतृत्वले समेत आवश्यक लचकता देखाएको बताए ।
उनले विशेष अधिवेशनबाट निर्वाचित सभापति तथा कार्यसमितिले विधानअनुसार काम गरिरहेको दाबी गर्दै विवादले तत्काल केही असर पारे पनि दीर्घकालीन रूपमा पार्टीलाई क्षति हुन नदिने बताए ।
कांग्रेसभित्र दुई समूहले फरक–फरक महाधिवेशनको तयारी अघि बढाएसँगै अब यसको प्रभाव वडा तहदेखि प्रदेश र केन्द्रसम्म कसरी पर्छ भन्ने विषय महत्वपूर्ण बनेको छ । सर्वोच्च अदालतमा विचाराधीन विवाद र पार्टीभित्रको शक्ति संघर्ष कसरी टुंगिन्छ भन्नेमा कांग्रेसको आगामी राजनीतिक दिशा समेत निर्भर रहने देखिन्छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्