काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले दिल्लीमा जारी ब्रिक्स प्लस देशहरूको शिखर सम्मेलनका क्रममा पारित १४० बुँदे प्रस्ताव तथा चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भएको द्विपक्षीय वार्ताका संकेत सकारात्मक रहेको बताएका हुन्।
दुई ठूला छिमेकी भारत र चीनको बीचमा रहेको नेपालले अब कुनै द्विविधामा नपरी बदलिँदो क्षेत्रीय परिस्थितिबाट अधिकतम लाभ लिने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ।
भट्टराईले विगतमा भारत र चीनबीचको दूरी तथा प्रतिस्पर्धामा खेलेर क्षणिक सत्तास्वार्थ पूरा गर्न खोज्दा नेपाल अल्पविकास र परनिर्भरताको दुष्चक्रमा फसेको टिप्पणी गरेका छन्। त्यसबाट पाठ सिक्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक रणनीति बनाउनुपर्ने उनले बताएका छन्।
चिनियाँ राष्ट्रपतिले द्विपक्षीय वार्ताका क्रममा प्रयोग गरेका ‘दुवै पक्षले रणनीतिक दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धको दीर्घकालीन विकासलाई ध्यानमा राख्दै’ भन्ने अभिव्यक्ति तथा भारतको अगुवाइमा सर्वसम्मतिले पारित भएको लामो प्रस्तावका बहुआयामिक दिशालाई नेपालले गम्भीरतापूर्वक बुझ्नुपर्ने भट्टराईको भनाइ छ।
उनले उच्च तथा दिगो आर्थिक समृद्धि र प्रभावकारी ‘सफ्ट पावर’ हासिल नगरी नेपालजस्ता साना तथा कमजोर मुलुकले विश्वमा सम्मानजनक उपस्थिति कायम गर्न नसक्ने बताएका छन्।
आगामी दिनमा चीन र भारतबीच प्रतिस्पर्धासँगै सहकार्य पनि बढ्न सक्ने भन्दै त्यसबाट लाभ लिन नेपालले कुशल कूटनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ।
नेपाललाई दुई छिमेकीबीच ‘गतिशील सेतु’ का रूपमा विकास गर्दै अन्ततः ‘शान्ति राष्ट्र’ मा रूपान्तरण गर्ने योजनाबद्ध पहल तत्काल सुरु गर्नुपर्ने भट्टराईले बताएका छन्।
अन्यथा, ‘दुई हात्ती लड्दा पनि मिल्दा पनि घाँसकै नाश’ हुने परम्परागत लोकोक्तिजस्तै त्यसको दुष्परिणाम नेपालले भोग्नुपर्ने चेतावनी उनले दिएका छन्।
भट्टराईले यस विषयमा नेपालका युवा सत्ताधारीहरूको समयमै ध्यान जानुपर्नेमा समेत जोड दिएका छन्।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्