ग्यासको कालोबजारी बढ्यो, काठमाडौं-भक्तपुरबाट ४७५ सिलिन्डर बरामद

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २६

काठमाडौं । बजारमा एलपीजी ग्यासको अभाव बढेसँगै कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने क्रम बढेको पाइएको छ। प्रहरीले काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा छापा मारेर लुकाएर राखिएका ४७५ थान ग्यास सिलिन्डर बरामद गरेको छ।

काठमाडौंको नरेफाँटबाट १८३ र सामाखुसीबाट १८९ सिलिन्डर बरामद गरी कालोबजारीको आरोपमा दुई व्यापारी पक्राउ परेका छन्। भक्तपुरको सूर्यविनायक र इटाछेबाट थप ७५ र २८ सिलिन्डर बरामद गरिएको छ। सूर्यविनायकका एक व्यापारीले प्रतिसिलिन्डर २ हजार ८ सय रुपैयाँसम्ममा ग्यास बिक्री गरेको प्रहरीले जनाएको छ।

यसैबीच, ग्यासको सहज वितरणका लागि सरकारले नेपाल आयल निगममा ‘कमाण्ड पोस्ट’ स्थापना गरेको छ। वैकल्पिक मार्गबाट दैनिक करिब ५० हजार सिलिन्डर उपत्यकामा ल्याउने व्यवस्था गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

सरकारले एउटामात्र सिलिन्डर भएका, ग्यास सकिएका तथा अशक्त, गर्भवती र सुत्केरी उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गर्न उद्योगीलाई निर्देशन दिएको छ। कालोबजारी र तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्नेमाथि कडा कारबाही गरिने पनि विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *