राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि एक विपन्न महिलाले अस्पतालकै अगाडि फुटपाथमा बच्चा जन्माउन बाध्य भएको घटना सार्वजनिक भएको छ ।
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान प्रसव व्यथा लागेपछि मंगलबार राति करिब डेढ बजे श्रीमान् र आफन्तसहित अस्पताल पुगेकी थिइन् । तर अस्पतालले आवश्यक स्वास्थ्य परीक्षणका लागि करिब २ हजार ५ सय रुपैयाँ लाग्ने बताएपछि आफूले पैसा नभएको जानकारी गराएको बबिताको दाबी छ ।
आफूसँग पैसा नभएको र यसअघि पनि तीन सन्तान सामान्य रूपमा जन्मिएको बताउँदै तत्काल भर्ना गरिदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीले जाँचबिना प्रसूति गराउन नमिल्ने भन्दै अस्पतालबाट बाहिर पठाएको बबिताले बताएकी छन् ।
त्यसपछि उनी अस्पताल नजिकैको औषधि पसल अगाडि बसेकी थिइन् । केही समयपछि प्रसव पीडा बढेपछि आफन्तको सहयोगमा उनले त्यहीँ छोरालाई जन्म दिइन् ।
बच्चा जन्मिएपछि परिवारले आमा र नवजात शिशुलाई अस्पतालमा लगे पनि तत्काल भर्ना नलिएको बबिताको आरोप छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारी अस्पतालको सेवा र विपन्न नागरिकको स्वास्थ्य अधिकारबारे गम्भीर प्रश्न उठेको छ । घटनामा दोषी स्वास्थ्यकर्मीमाथि कारबाही गर्नुपर्ने मागसमेत उठिरहेको छ ।
यता, अस्पतालका फ्रि हेल्थ सर्भिस फोकल पर्सन मनोज देवले भने बबिता राति अस्पताल आएपछि बेडमा राखेर प्रारम्भिक जाँच गरिएको र आवश्यक स्वास्थ्य परीक्षणका लागि ल्याबमा पठाइएको दाबी गरेका छन् । उनका अनुसार परिवार ल्याबबाटै बाहिरिएको थियो र बिहान बच्चा जन्मिएपछि पुनः अस्पताल आएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले आफूले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मात्र घटनाबारे जानकारी पाएको बताएका छन् । उनले घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गर्ने बताएका छन् ।
सरकारी तथा निजी अस्पतालमा विपन्न तथा गरिब नागरिकका लागि निश्चित बेड छुट्याउनुपर्ने कानुनी व्यवस्था रहे पनि सरकारी अस्पतालकै अगाडि एक महिलाले फुटपाथमा बच्चा जन्माउनुपर्ने अवस्था आउनुले नेपालको स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्