जेनजी आन्दोलन नयाँ जागरणको विस्फोट थियो : रवि लामिछाने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई ‘नयाँ जागरणको विस्फोट’का रूपमा व्याख्या गरेका छन् ।

जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताबाट सिर्जित निराशाविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका छन् ।

उनले आन्दोलनका क्रममा ज्यान गुमाएका जेनजी शहीद तथा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

लामिछानेले जेनजी आन्दोलनले परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको उल्लेख गर्दै युवाहरूले उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले रास्वपामाथि आएको बताएका छन् ।

‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ,’ उनले वक्तव्यमा भनेका छन् ।

उनले युवा, नागरिक समाज र आम नागरिकलाई सरकार तथा राजनीतिक दलको कामप्रति निरन्तर रचनात्मक खबरदारी र निर्मम समीक्षा गर्न आग्रह गर्दै नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *