काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हरसम्भव प्रयास गर्दा पनि निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने समय नपाएको बताएका छन्।
आइतबार र सोमबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकमा पदाधिकारी तथा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा थापाले देउवालाई भेटेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न चाहेको बताएका हुन्।
उनले भदौ ५ गते देउवाका स्वकीय सचिव भानु देउवालाई टेलिफोन गरी भेटका लागि समय मागेको तर समय नपाएको बैठकमा जानकारी गराएका थिए।
‘म सबै पार्टीलाई मिलाएर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु। त्यसका लागि मैले निवर्तमान सभापतिसँग भेटेर कुरा गर्न चाहेको छु। समय पाएको छैन,’ थापाले भनेका थिए।
देउवासँग भेट हुन नसकेपछि थापाले शनिबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र आइतबार नेता डा. शेखर कोइरालासँग भेट गरी पार्टीभित्रका असन्तुष्ट पक्षका मागबारे छलफल गरेका थिए।
बैठकले क्रियाशील सदस्यता डिजिटल रूपमा अद्यावधिक नगरेका सदस्यलाई सर्तसहित १५औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ। यस्तै, असोज १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशनको मिति यथावत् राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका परिमार्जन गर्ने जिम्मेवारी निर्वाचन समितिलाई दिइएको छ।
बैठकले महाधिवेशनका लागि विधानमा देखिएका बाधा अड्काउ फुकाउने विषयमा कानुनका जानकारसँग छलफल गरी आवश्यक निर्णय गर्ने पनि जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्