प्रधानमन्त्रीका दाबेदारहरू ‘रेडजोन’मा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ७

काठमाण्डौँ । यस पटकको आम निर्वाचनको मुख्य फरक विशेषता भनेको अधिकांश प्रमुख दलहरूले भावी प्रधानमन्त्रीको नाम सार्वजनिक गरेर चुनावमा जानु हो ।

यसअघिसम्म निर्वाचनपछि मात्र संसदीय दलको नेता चयन भई प्रधानमन्त्री तय हुने चलन थियो । अहिले भने यस अभ्यासले प्रत्यक्ष कार्यकारी प्रमुख प्रणालीतर्फ राजनीतिक सोच अघि बढ्दै गएको संकेत गरेको विश्लेषकहरूको टिप्पणी छ ।

तर प्रधानमन्त्रीका दाबेदारहरू सबै आ–आफ्नो निर्वाचन क्षेत्रमा ‘सेफ जोन’मा छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक अन्य सबै दाबेदार नयाँ वा जोखिमपूर्ण क्षेत्रमा उम्मेदवार बनेका छन् ।

केपी शर्मा ओली झापाको क्षेत्र नं ५ बाट उम्मेदवार छन्, जुन उनको परम्परागत क्षेत्र हो । २०७९ को निर्वाचनमा उनले सबैभन्दा धेरै मत ल्याएका थिए र यस क्षेत्रमा एमालेको संगठन बलियो छ। राप्रपासँग सम्भावित तालमेल र विगतको मतपरिणामले ओलीलाई तुलनात्मक रूपमा सुरक्षित देखाउँछ, यद्यपि रास्वपाको उपस्थिति चुनौतीपूर्ण छ ।

रास्वपाबाट प्रधानमन्त्रीका दाबेदार मानिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ओलीकै क्षेत्रमा उम्मेदवारी दिएका छन् । काठमाडौंमा स्वतन्त्र रूपमा लोकप्रिय मतसहित विजयी भएका बालेनले भ्रष्टाचारविरुद्ध र सुशासनको मुद्दा उठाएका थिए । तर झापामा उनलाई “टुरिस्ट उम्मेदवार” भन्ने आरोप लागिरहेको छ र काठमाडौंजस्तो सहज परिस्थिति त्यहाँ छैन ।

कांग्रेस सभापति गगन थापा पनि जोखिमपूर्ण बाटो रोज्दै आफ्नो परम्परागत क्षेत्र काठमाडौं ४ छाडेर सर्लाही ४ बाट उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस यस क्षेत्रमा पराजित भएको थियो । यद्यपि समानुपातिक मतका आधारमा कांग्रेस केही बलियो देखिए पनि स्वतन्त्र उम्मेदवार अमेरश कुमार सिंहसँग कडा प्रतिस्पर्धा हुने अनुमान छ । उनलाई पनि बाहिरी उम्मेदवारको आरोप खेप्नुपरेको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने आफ्नो पुरानै शैली दोहोर्‍याउँदै यस पटक पूर्वी रुकुमबाट उम्मेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा माओवादीले यहाँ बलियो मत ल्याएको र एमालेलाई स्पष्ट अन्तरले हराएको तथ्यले प्रचण्डलाई अन्य दाबेदारभन्दा सुरक्षित देखाउँछ । तर नयाँ पुस्ता र ‘जेन–जी’ राजनीतिक चेतनाको प्रभावले उनलाई पनि पूर्ण रूपमा निश्चिन्त बनाएको छैन ।

समग्रमा, यस निर्वाचनमा प्रधानमन्त्रीका दाबेदारहरू लोकप्रियता, जोखिम र अनिश्चितताको ‘रेडजोन’ मा उभिएका छन्, जहाँ जित–हारले मात्र होइन, नयाँ राजनीतिक प्रवृत्तिले पनि नेपालको सत्ता समीकरण तय गर्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *