ताप्लेजुङ : विद्यालयबाट फर्किदै गरेकी एक बालिकाको करेन्ट लागेर मृत्यु भएको छ । विद्यालयबाट फर्किदै गर्दा भुईंमा खसेको विजुलीको तारबाट करेन्ट लाग्दा उनको ज्यान गएको हो ।
घटना ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ को हो । स्थानीय साङ्गे शेर्पाकी सात वर्षीया छोरी मंसिरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई ताप्लेजुङ जिल्ला अस्पतालले मृत घोषणा गरेको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलका अनुसार विद्यालयबाट फर्किंदै गर्दा बाटैमा खसेको बिजुलीको तार छुन पुगेपछि उनलाई करेन्ट लागेको थियो । बालिकाको शव पोष्टमार्टमपछि आफन्तले जिम्मा लिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले कानुनबमोजिम क्षतिपूर्ति दिने भएको डिएसपी रावलले जानकारी दिएका छन् । यो गाउँमा दुई वर्षअघि पनि यसरी नै करेन्ट लाग्दा एक जनाको ज्यान गएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया