काठमाडौँ : काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिए।
तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो। प्राप्त विवरणका आधारमा प्रतिवेदन तयार पारिएको थियो। सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको, झाको भनाइ छ।
माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त हुन सकेन। कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख पाइएन। यसो हुनु भनेको गुड म्यानुफ्याक्चरिङ् प्राक्टिस (जिएमपी) होइन, प्रतिवेदनमा उल्लेख छ। इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाण पत्र उत्पादित तेलमा प्रयोग गरिएको छ। यसो गर्न पाइँदैन। प्रतिवेदनले औँल्याएको छ।
तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) हरुको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको छ। सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको छ। उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थ (तेल) को तेलको प्रयोग म्याद भन्दा कम देखिएको छ। तेलको लेबलमा उल्लेख भएका तत्त्वहरू र परिमाण तेलमा रहेको पुष्टि हुने कुनै सरकारी अथवा अन्य निकायबाट प्रमाणित हुने कागजात प्राप्त भएन। लेबलमा उल्लेख फाइदाहरू (कपाल नझर्ने, नयाँ कपाल उमार्ने, चायाँ रोक्ने आदि) पुष्टि हुने क्लिनिकल ट्रायल, प्रयोगशाला विश्लेषण, जर्नलमा प्रकाशित नदेखिएकोले भ्रम सिर्जना हुने शब्दको प्रयोग गरेर प्रचारप्रसार र व्यावसायिक क्रियाकलाप गरेको प्रतिवेदनले औँल्याएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया