निगमका अध्यक्षसहित ५ लाई उड्डयनसम्बन्धी काममा रोक

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १३

काठमाडौँ : नियमनकारी निकायको अनुमतिविना विमान इटालीको नेपल्स पुर्‍याएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसहित ५ जनालाई उड्डयनसम्बन्धी काम गर्न रोक लगाएको छ ।

कागजी प्रक्रिया नमिलाएको, अनुमति प्राप्त नगरेको जहाज मर्मत संस्था (एमआरओ) मा पुर्‍याएको अभियोगमा नियमनकारी निकाय प्राधिकरणले त्यो विमान दुबईबाट उडाएर लैजाने पाइलट महेश्वरमान डंगोल र रमण घिमिरेलाई ग्राउन्डेड गरेको छ । पाइलटहरू मात्रै होइन प्राधिकरणले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जिम्मेवार भूमिका (एकाउन्टेवल म्यानेजर) को काम गर्न रोक लगाइदिएको छ ।

आइतबार नेपाल वायुसेवा निगमको एउटा वाइडबडी विमान नियामक निकायको अनुमति नलिई दुबई हुँदै इटाली पुर्‍याइएको थियो । यात्रु राखेर नियमित उडानमार्फत दुबई पुगेको निगमको विमान त्यहाँबाट रित्तै साढे ५ घण्टाको उडानमा इटाली पुगेको थियो । त्यसको जानकारी वायुयान नियमन गर्ने सरकारी निकाय प्राधिकरणले भोलीपल्ट अर्थात् सोमबार मात्रै पाएको प्रवक्ता हंसराज पाण्डेले बताए । निगमको वाइडबडी विमान आइतबारदेखि इटालीको नेपल्स विमानस्थलमा छ । अन्नपूर्ण (अल्फा लिमा यांकी) विमान एक महिना हरेक दुई वर्षमा अनिवार्य गर्नुपर्ने मर्मत (सी चेक) का लागि त्यहाँ रहनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *