मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आज संकटा क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ साढे ५ बजे सुरु हुनेछ । दुवै टिम जारी लिगमा पहिलो जितको खोजीमा छन् ।
आफ्नो पहिलो खेलमा मनाङ हिमालयन शेर्पासँग १ – १ गोलको बराबरीमा रोकिएको थियो । उक्त खेलमा मनाङले खेल सुरु भएको १५ औं मिनेटमै रोशन रानामगरको गोलमार्फत अग्रता लिएपनि जोगाउन सकेको थिएन । संकटाले त्रिभुवन आर्मी फुटवल क्लबसँग गोलरहित बराबरी खेलेको थियो।
आजको खेलमा संकटाका कप्तान सुनिल बल भने हुने छैनन् । उनी युइटेड एफसीबाट प्रतियोगिता खेल्न अस्ट्रेलिया गएका छन् । गत सिजन मनाङले संकटालाई ३ – ० गोलले पराजित गरेको थियो ।
रंगशालामै दिउँसो साढे २ बजे हुने खेलमा नेपाल पुलिस क्लब र हिमायल शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । पुलिस अंकको खाता खोल्ने लक्ष्यमा हुनेछ । पुलिसले चर्च ब्वाइज युनाइटेडसँग २ – १ गोलको हारका साथ लिगको सुरुवात गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया