ओनसरीको घोषणा : कोटेश्वरमा अण्डरपास, एयरपोर्टमुनि सुरुङमार्ग

DaksuMedia दाक्सु मिडिया
|
२०७९ कार्तिक २२

काठमाडौं-२ बाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले मंगलबार आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छन् । सत्तारुढ गठबन्धनको समर्थन पाएकी उनले कोटेश्वरमा अण्डपास बनाउने र त्रिभुवन विमानस्थलको मुनि सुरुङ मार्ग बनाउने पनि घोषणा गरेकी छन् ।

जडिबुटीदेखि तीनकुनेसम्म अण्डर पास निर्माण गरी कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जाम हटाउने र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मुनिबाट सुरुङमार्ग निर्माण गरी पेप्सीकोला–सिनामंगल आवतजावतको व्यवस्था मिलाउने उनको प्रतिवद्धता छ ।

साँखु–फड्केश्वर सडकलाई पूर्णता दिई मध्यपहाडी लोकमार्ग सडकसँग जोड्ने, साँखु-बज्रयोगिनी-घुमारचोक-डाँडाकटेरी-चौही भञ्ज्याङ-धारापानी-पटाप –कुण्डेश्वर हुँदै सिन्धुपाल्चोक जोड्ने सडक निर्माणलाई पूर्णता दिने घोषणा गरिएको छ।

चावहिल-साँखु सडकलाई मापदण्ड अनुसार यथाशीघ्र निर्माण सम्पन्न गराउने, शाली नदी-मनोहरा-मूलपानी-हरहर महादेव-पेप्सिकोला-नरेफाँट-बालकुमारी हुँदै मनोहरा करिडोर निर्माण गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्न इलेक्ट्रिक ट्राम सञ्चालन गर्ने, मनोहरा खोलाको कटान तथा डुबान नियन्त्रण गर्न तटबन्ध निर्माण गर्ने तथा जग्गा एकीकरण गर्न पहल गर्ने पनि ओनसरीले आफ्नो प्रतिवद्धतापत्रमा उल्लेख गरेकी छन्।

यस्तै उनले शंखरापुर नगरपालिका-३ जहरसिंहपौवामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने, पेप्सीखोलादेखि सिनामंगलसम्म सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धता पनि जनाएकी छन् ।

यस्तै आवश्यक स्थानमा मेलम्ची खानेपानी आयोजना जडान गर्ने, तिनकुनेको मुआब्जासम्बन्धी समस्या समाधान गरी अन्तर्राष्ट्रियस्तरको पार्क निर्माण गर्ने, फोहोर र ढल व्यवस्थापन गर्ने पनि उनको प्रतिवद्धता छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *