काठमाण्डौँ । माघे संक्रान्तिको अवसरमा काठमाडौं उपत्यकामा तरुलसहित कन्दमूलको कारोबार तीव्र बनेको छ ।
विशेष गरी तरुल, पिँडालु र सखरखण्डको माग बढेपछि पुष मसान्त सम्म कन्दमुलको आगमन उल्लेख्य रूपमा वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार यो हप्तामात्रै करिब ८०० देखि ९०० टन तरुल बजारमा भित्रिएको छ। पुष महिनाभरको तथ्यांक हेर्दा हालसम्म करिब १ हजार ३ सय टन तरुल भित्रिसकेको छ। यस वर्ष कन्दमूलको कुल आगमन करिब ३ हजार ४ सय टन पुगेको छ, जसमा झन्डै ६० प्रतिशत हिस्सा तरुलको रहेको छ।
तरुलको मुख्य आपूर्ति आन्तरिक उत्पादन क्षेत्रबाट नै हुने गरेको श्रेष्ठले बताए। उनका अनुसार तराईका सर्लाही, सुनसरी र मोरङ जिल्लाबाट मात्रै करिब ६० प्रतिशत तरुल आपूर्ति हुने गरेको छ । यस्तै, धादिङ, काभ्रे, मकवानपुरलगायत उपत्यकाका छिमेकी जिल्ला तथा पूर्वको झापादेखि पश्चिमतर्फ पाल्पासम्मका जिल्लाबाट पनि तरुल आउने गरेको छ।
आन्तरिक उत्पादन पर्याप्त भए तापनि केही मात्रामा भारतीय कन्दमूल पनि भित्रिने गरेको छ। समितीको तथ्याङ्कअनुसार यो पुष महिनामा हालसम्म करिब १ हजार ७३० टन तरुल, ५७० टन पिडालु र १ हजार १ सय टन सखरखण्ड बजारमा भित्रिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्