
खोटाङ । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ ।
फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले गाउँपालिकाले प्रोत्साहनस्वरुप अन्तरजातीय विवाह गर्ने जोडीलाई नगदसहित सम्मान गरेको हो ।
दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिएका छन् ।
गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नं १ का चार, वडा नं २ का एक, वडा नं ३ का चार, वडा नं ४ का चार जोडीलाई सम्मान गरेको छ ।
त्यस्तै, वडा नं ६ का छ, वडा नं ७ का एक, वडा नं ८ का ११ र वडा नं ९ का नौ जोडीलाई सम्मान गरिएको उँपालिका उपप्रमुख रुपेश राईले जानकारी दिएका छन् । उनका अनुसार वडा नं ५ चिप्रिङमा केही समयपछि अर्को चरणको कार्यक्रम राखेर सम्मान गरिने छ ।
अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उनीहरू खुशी भएको गाउँपालिकाका अध्यक्ष राईले बताएका छन् । उनकाअनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा विविध कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।
गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया