काठमाडौं । काभ्रेको बीपी राजमार्गमा बाढी र पहिरोका कारण यातायात सञ्चालनमा समस्या आएको छ। रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि राजमार्गको आवागमन पूर्ण रूपमा रोकिएको हो।
डाइभर्सन बगेपछि चारसयबेशी, चौकीडाँडा र गिम्तीबेशी आसपासमा समेत पहिरो खसेको छ। सडक बन्द हुँदा उक्त मार्ग हुँदै गन्तव्यतर्फ हिँडेका सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
सडक डिभिजन कार्यालय भक्तपुरले अवरुद्ध सडक खुलाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरेको जनाएको छ। पहिरो हटाउने तथा डाइभर्सन पुनःनिर्माणको काम अघि बढाइएको छ।
निरन्तर वर्षा भइरहेकाले उद्धार तथा मर्मतको काम प्रभावित भएको कार्यालयले जनाएको छ। मौसममा सुधार आएमा करिब पाँच घण्टाभित्र यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
राजमार्गको अवस्था सामान्य नभएसम्म उक्त सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन सम्बन्धित निकायले यात्रु तथा चालकलाई आग्रह गरेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्