गुडिरहेको एसी बसमा आगलागी, २० भन्दा बढी यात्रुको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २९

राजस्थान, जैसलमेर — २०८२ असोज २९ गते, बुधबार राजस्थानको जैसलमेरमा मंगलबार दिउँसो चलिरहेको एसी बसमा अचानक लागेको भीषण आगलागीमा २० भन्दा बढी यात्रुको ज्यान गएको छ। घटनामा ५७ जना सवारमध्ये केहीले बसबाट हाम फालेर ज्यान जोगाउन सफल भए पनि धेरैजसो बसभित्रै जीवितै जलेका थिए।

घटनामा १९ जना गम्भीर घाइते भएका छन्, जसमा अधिकांशलाई जोधपुर अस्पताल पठाइएको थियो। तीमध्ये धेरैको उपचारका क्रममा मृत्यु भइसकेको छ भने बाँकी चारको अवस्था स्थिर रहेको बताइएको छ।

स्थानीय स्रोतका अनुसार बस जैसलमेरबाट जोधपुरतर्फ जाँदै थियो। यात्राका क्रममा बसको एसी युनिटमा अचानक आगो लागेको थियो, जसले केही मिनेटमै सिंगो बसलाई आगोको चपेटामा ल्याएको थियो। प्रत्यक्षदर्शीहरूले बसको ढोका लक भएको कारण धेरै यात्रुहरू समयमै निस्कन नसकेको बताएका छन्।

दुर्घटनामा स्थानीय पत्रकार राजेन्द्र सिंह चौहान, एक सैनिक महेन्द्र र उनका परिवारका सदस्यहरूको ज्यान गएको पुष्टि भएको छ। महेन्द्र जैसलमेरस्थित गोला-बारुद डिपोमा कार्यरत थिए।

घटनापछि मुख्यमन्त्रीले बिहीबारको बिहार भ्रमण रद्द गरेका छन् र राहत तथा उद्धार कार्यमा सक्रिय रहेका छन्। सीएम कार्यालयका अनुसार जोधपुरमा भर्ना गरिएका घाइतेहरूमध्ये धेरैको शरीरमा ७० प्रतिशतभन्दा बढी भाग जलेको छ।

हालसम्म मृत्युको आधिकारिक संख्या सार्वजनिक गरिएको छैन तर मृतकको संख्या ३५ पुग्न सक्ने अनुमान गरिएको छ। घटनास्थलमा पुगेका दमकलकर्मीहरूले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए।

शोकमा डुबेको जैसलमेर अहिले राहत र उद्धारको प्रतीक्षामा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *