मधेश आन्दोलनका पहिलो शहीदलाई बालेनद्धारा माल्यापर्ण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । संघीय राजधानी काठमाडौंको मेयरबाट राजीनामा दिएकै दिन रास्वपा वरिष्ठ नेता बनेका बालेन्द्र शाह मधेश प्रदेशको राजधानी जनकपुर पुगेका छन् ।

आज जनकपुरमा रास्वपाको चुनावी प्रचार अभियान थालनी छ, जहाँ बालेनले पार्टी सभापति रवि लामिछानेसँगै धोतीकुर्ता लगायत मधेशी पहिचान झल्काउने पोशाकमा देखिएका छन् ।

संघीयता विरोधी भनेर यसअघि चर्चा गरिएका बालेन मधेशकै आठमध्ये एक जिल्ला अर्थात् महोत्तरीको एकडारा गाउँको पृष्ठभूमि रहेका नागरिक हुन् । यसै वर्ष बितेका बालेनपिता रामनारायणले आफ्नो परिवारलाई महोत्तरीबाट काठमाडौं ल्याएका हुन् । बालेनको हुर्काइबढाइ काठमाडौंमै भयो ।

१९ वर्षअघि अर्थात् ०६३ माघ ५ गते शहीद रमेश महतो मधेश आन्दोलनको सुरुवात क्रममा मारिएका थिए । तिनै रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै आफ्नो अभियान थालेका छन् ।

मधेश आन्दोलनकै सम्झना गरिने दिनमा रास्वपाले अभियान थाल्नुको खास कारण छ । तीन वर्षअघिको आम चुनावमा रास्वपाले देशभरि लहरको संकेत ल्याउँदै गर्दा मधेशमा भने फिटिक्कै प्रभाव पार्न सकेको थिएन ।

झन्डै ३४ लाख मतदाता रहेको मधेशबाट रास्वपाले जम्मा एक लाख सात हजार मतमात्रै पाउन सकेको थियो । पहाडी मतदातामा रास्वपाले प्रभाव जमाउँदै गर्दा मधेशमा सीके राउतको जनमत र रेशम चौधरीको नाउपाले प्रभाव पार्दै थियो ।

यसपल्ट भने रास्वपाले जनघनत्वको हिसाबले सबैभन्दा बढी मतदाता रहेको मधेश प्रदेशबाट आफ्नो अभियान थाल्दै छ । यसलाई रास्वपाको मधेश आन्दोलन, संघीयताप्रति अपनत्व ल्याउने प्रयास र चुनावी जितको रणनीतिक आकलनका रुपमा बुझ्न सकिन्छ ।

रास्वपा केन्द्रीय सदस्य शिव यादवका अनुसार, बालेनको मधेश यात्राले मधेश आन्दोलनको अपनत्व लिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *