काठमाण्डौँ । आसन्न निर्वाचनका लागि कास्कीमा १७ हजारभन्दा बढी मतदाता थप भएका छन् ।
यसअघिको निर्वाचनमा यहाँ दुई लाख ९४ हजार १५१ मतदाता रहेकामा आसन्न निर्वाचनका लागि थप १७ हजार ८४२ जनाले नयाँ मतदाता नामावलीका लागि आवेदन दिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदाताका लागि गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म आवेदन माग गरेकामा उक्त सङ्ख्याका मतदाताले आवेदन दिएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिएका छन् ।
नयाँ मतदाता नामावलीका सम्बन्धमा कार्यालयले थप अध्ययन गरिरहेको उल्लेख गर्दै उनले शीघ्र अन्तिम नामावली प्रकाशन गरिने बताए ।
जिल्लामा निर्वाचनका लागि १५३ मतदानस्थल तय भइसकेका जानकारी दिँदै सूचना अधिकारी न्यौपानेले यसअघिको निर्वाचनमा १५० निर्वाचनस्थल रहेका बताए ।
उनका अनुसार अन्तिम मतदाता नामावली तय भएपछि मात्रै मतदान केन्द्रहरूबारे टुङ्गो लाग्नेछ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्