काठमाडौं — केही दिनयता देखिएको हिउँदे प्रणाली कमजोर बन्दै गए पनि मौसमविद्हरूले फेरि अर्को प्रणाली भित्रिन लागेको बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि नयाँ पश्चिमी वायु प्रणाली नेपाल प्रवेश गर्ने प्रक्षेपण गरिएको छ।
मंगलबार रातिदेखि बुधबार दिउँसोसम्म देशका अधिकांश भूभागमा वर्षा भएको थियो। काठमाडौं उपत्यकासहित धेरै स्थानमा पानी परे पनि कोशी प्रदेशमा भने तुलनात्मक रूपमा कम वर्षा मापन गरिएको विभागले जनाएको छ। पछिल्लो २४ घण्टामा खानीखोला केन्द्रमा २५.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
विभागका अनुसार बिहीबार उल्लेख्य वर्षाको सम्भावना छैन। हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा बाक्लो बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली देखिएको छ। बागमतीका केही स्थान र गण्डकीका एक–दुई क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
बिहीबार दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्ने अनुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम प्रायः सफा रहने विभागले जनाएको छ। ती क्षेत्रमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार सोमबारदेखि भित्रिने अर्को पश्चिमी वायुले पुनः हल्कादेखि मध्यम खालको वर्षा गराउन सक्छ।
उनले भने, “अघिल्लो प्रणालीले आधाभन्दा बढी भूभागमा पानी पार्यो, अब फेरि यस्तै प्रकृतिको अर्को प्रणाली सोमबारदेखि सक्रिय हुन सक्छ।”
यसले गर्दा आगामी दिनहरूमा चिसो बढ्नुका साथै कृषि र जनजीवनमा आंशिक प्रभाव पर्न सक्ने मौसमविद्हरूको अनुमान छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्