काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टासम्म चलेर सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन्, जसले ९८.०४ प्रतिशत मत खसेको देखाउँछ। ३६ जना प्रतिनिधि भने अनुपस्थित रहे।
बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुवातमा मतदान गरेका थिए भने अन्तिम मत नेता योगेश भट्टराईले खसाले।
अध्यक्ष पदमा ओली र पोखरेलबीच प्रतिस्पर्धा रहेको छ। महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन्। पाँच उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने तीन उपमहासचिव पदमा ६ जना प्रतिस्पर्धी छन्। नौ सचिव पदका लागि २० जनाले उम्मेदवारी दिएका छन्।
यसअघि भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमाले महाधिवेशन काठमाडौँमा बन्दसत्रका रूपमा प्रवेश गरेको थियो। पटक–पटक कार्यतालिका सर्दै अन्ततः पुस २ गते मतदान सम्पन्न भएको हो।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्