×

जसपा नेपालको मतदान नहुने, सहमतिबाटै पदाधिकारी छानिने

जेष्ठ ३१, २०८१ | दाक्सु मिडिया

जनकपुर : जनता समाजवादी पार्टी नेपालको पहिलो महाधिवेशनमा अध्यक्ष बाहेक नेतृत्वका लागि बिहीबारका लागि तय भएको मतदान प्रक्रिया स्थगित गरी सहमतिबाट चयन गरिने भएको छ ।

सबै पदमा सहमतिबाट पदाधिकारी चयनको जिम्मा महाधिवेशन प्रतिनिधिहरुले अध्यक्ष उपेन्द्र यादवलाई दिएका छन् । अब अध्यक्ष यादवले पार्टीका वरिष्ठ नेताहरूसँगको समूहमा छलफल गरी सबै पदमा सहमतिबाट चयन गर्ने महाधिवेशन प्रतिनिधि महेश चौरसियाले जानकारी दिएका छन् । अध्यक्ष यादवको सचिवालयमा समेत रहेका चौरसियाका अनुसार अब अध्यक्षले पार्टीका नेताहरूबीच छलफल गर्ने नाम तय भएपछि महाधिवेशन हलबाट त्यसालाई अनुमोदन गरिने छ ।

केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी सदस्य, केन्द्रीय निकायहरुको बिहीबार मध्याह्न १२ देखि दिउँसो ३ बजेसम्म मतदान हुने तय गरिएको थियो । बुधबार उम्मेदवारीका लागि तोकिएको समयमा अध्यक्ष पदमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष चुनिए । तर अध्यक्षबाहेकका पदमा भने नेताहरुबीच तीव्र प्रतिस्पर्धा थियो । जसपा नेपालमा २१ जना पदाधिकारीसहित २०१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

एक सहअध्यक्ष पदका लागि राजकिशोर यादव, मो। लालबाबु राउत र रकम चेम्जोङले उम्मेदवारी दर्ता गराएका थिए । यस्तै चारजना पुरुष उपाध्यक्षका लागि मृगेन्द्रकुमार सिंह यादव, हरिनारायण यादव, सरोजकुमार यादव, अर्जुन थापा, अमरेशनारायण झा, मो. खालिद, गोविन्द चौधरी, आङदेङ शेर्पा, प्रकाश अधिकारी, विद्युत् बज्राचार्य, शिवलाल थापामगर सहितका १७ जनाले मनोनयन दर्ता गराएका थिए । एकजना महिला उपाध्यक्ष पदका लागि रेखा यादव, लिलादेवी सिटौला, शोभा देवी, सुनी लामा, सबिता यादव र राधा थापा गरी ६ जनाले उम्मेदवारी दिएका थिए ।

दुई महासचिवका लागि मनिषकुमार सुमन, रामकुमार शर्मा, बोमबहादुर दर्लामी मगर, विजयकुमार, दीपक कार्की र अशोककुमार यादव ६ जनाले मनोनयन दर्ता गराएका थिए । एक महिला र २ पुरुष उपमहासचिव पदका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । २०१ पदका लागि तीनसय भन्दा बढीको उम्मेदवारी परेको थियो । मतदानबाट चयन गर्दा एउटै भूगोल र समुदायको मात्र चयन हुनेभएकाले पार्टीलाई समावेशी बनाउनका लागि सहमतिबाट नेतृत्व चयन गर्नेपर्ने घोषणा अध्यक्ष यावदले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: