काठमाण्डौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली समूहमा असन्तुष्टि चुलिँदा कोशी प्रदेशका मन्त्रीदेखि सांसदसम्मले केन्द्रीय सदस्यमा बागी उम्मेदवारी दिएका छन् ।
ओली पक्षले सार्वजनिक गरेको आधिकारिक सूचीमा नाम नभएका आधा दर्जनभन्दा बढीले बागी उम्मेदवारी दिएका हुन् । ओली पक्षले केन्द्रीय सदस्यको सूचीमा राखेका संखुवासभाका राजेन्द्र गौतमले उपमहासचिव र झापाका अग्नि खरेलले सचिवमा उम्मेदवारी दिएका छन् । जसमध्ये गौतमले भने उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि आफू केन्द्रीय सदस्यको मात्रै उम्मेदवार भएको बताएका छन् ।
ओली पक्षमै रहेका मोरङका लालबाबु पण्डितले पनि सचिवमा उम्मेदवारी दिएका छन् । यस्तै ओली पक्षको केन्द्रीय सदस्यको सूचीमा रहेका सुनसरीका भीम प्रसाद आचार्यले पनि उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । ओली पक्षको सूचीमा नरहेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले खुलातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
यसैगरी ओली पक्षकै नेता एवं कोशी प्रदेश सभाका प्रमुख सचेतक संखुवासभाका विदुर लिङ्थेपले पनि खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनको पनि नाम ओली पक्षका उम्मेदवारको सूचीमा छैन ।
ओली पक्षकै नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री एवं सांसद सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका पर्शुराम बस्नेतले खुला केन्द्रीय सदस्यमा बागी उम्मेदवारी दिएका छन् । प्रदेश सांसद रहेकी सुनसरीकी निरादेवी खनाल आचार्यले महिलातर्फ भूगोलको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । उनी एमाले नेता भीम आचार्यकी पत्नी हुन् । उनको नाम ओली पक्षको सूचीमा छैन ।
यस्तै इलामका सुहाङ नेम्वाङ, पाँचथरका आइन्द्र सुन्दर नेम्वाङ, ओखलढुंगाका किशोरकुमार अधिकारी र सुनसरीकी लक्ष्मी गौतमले पनि बागी उम्मेदवारी दिएका छन् । नेम्वाङ, अधिकारी र गौतम यसअघि केन्द्रीय सदस्य रहे पनि ओली पक्षले आफ्नो उम्मेदवारको सूचीमा राखेन । ओली पक्षमा रहेर यसअघि केन्द्रीय सदस्य रहेका ताप्लेजुङका टंक आङ्बुहाङले भने सूचीमा नाम नपरेपछि उम्मेदवारी नै दिएनन् । उनी नेकपा विभाजन हुँदा रामबहादुर थापा बादलसँगै एमालेमै रहेका थिए । उनी पूर्वमाओवादी हुन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसके पनि समूहगत अन्तिम सूची भने आइसकेको छैन । बागी उम्मेदवारी दिएका कतिपय व्यक्तिको नाम आधिकारिक सूचीमा पर्न सक्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्