राष्ट्रियसभा निर्वाचन : मौन अवधि सुरु, सामाजिक सञ्जालमार्फत समेत मत माग्न नपाईने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ १०

काठमाडौं : राष्ट्रियसभा सदस्यको यही माघ १२ गते हुने निर्वाचन प्रयोजनका लागि आजबाट मौन अवधि सुरु भएको छ। निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्छ, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन।’

आयोगले मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा आचरणहरु पालना गर्न/गराउन सबैसँग अनुरोध गरेको छ।

यसैबीच उक्त निर्वाचनका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा मतदान गर्न सकिने छ।

आयोगका अनुसार स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने छ।

नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।

राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार १९ पदमा ९ दलका ४३ जनाले उम्मेदवारी दिएका छन्।  माघ १२ मा हुने निर्वाचनबाट महिला सात, दलित तीन, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक दुई र अन्य समूह सात जना निर्वाचित हुनेछन् ।  

प्रतिपक्षी एमालेले १९ वटै सिटमा उम्मेदवारी दिएको छ। प्रमुख पतिपक्ष दल एमालेविरुद्ध सत्तारुढ गठबन्धनमा आबद्ध दलले साझा उम्मेदवार उठाएका छन्। कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५ सिट पाएका छन्। जसपाले २ र राजमोले एक सिटमा उम्मेदवारी दिएका छन्। नेपाल मजदुर किसान पार्टीले दुई र लोकतान्त्रिक समाजवादी पार्टीले एक उम्मेदवार उठाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *