काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो ।
प्रस्तावअनुसार अब २२५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । जसमा ७७ जिल्लाबाटै प्रतिनिधित्व हुनेछ । साथै थप ३३ प्रतिशत महिलाको पनि सहभागिता सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।
उपाध्यक्ष वामदेव गौतमका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारी रहनेछ ।
कार्यालय सचिव शेर बहादुर तामाङ्ले अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिए ।
यस्तै विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइनेसमेत उल्लेख गरिएको कार्यालय सचिव तामाङ्ले जानकारी दिए ।
संघीय निर्वाचन क्षेत्रीय कमिटी १६५ सदस्यीय, प्रदेश निर्वाचन क्षेत्रीय कमिटी ३३० सदस्यीय हुनेछन् । पालिका कमिटी पनि निर्माण गरिने छ । यी कमिटीहरू कार्यकारी अधिकारसहितका कमिटी हुनेछन् । प्रस्ताव अनुसार जिल्ला समन्वय समिति पनि बनाइनेछ । जसले जिल्लामा रहेका कमिटीहरूलाई समन्वय गर्नेछ, कार्यकारी अधिकार भने हुने छैन ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्