काठमाडौं : नेकपा (माओवादी केन्द्र) को काठमाडौंको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशन लम्बिएको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित हुन नसकेपछि शनिबार ११ बजेबाट बन्दसत्र सुरु हुन लागेको हो।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो। प्रतिवेदनमाथि छलफल गर्न बनेका २५ वटै समूहले बुधबार र बिहीबार निष्कर्ष पेस गरेका थिए।
प्रतिवेदनमाथि उठेका प्रश्न, सुझाव र जिज्ञासाको अध्यक्ष प्रचण्डले शुक्रबार बन्दसत्रमा प्रचण्डले जवाफ दिएर राजनीतिक प्रतिवेदन पारित गरेपनि विधान मस्यौदा पारित हुन सकेन। शनिबारको बन्दसत्रमा विधान मस्यौदामाथि समूहगत छलफलबाट उठेका प्रश्न, सुझाव र जिज्ञासाको जवाफ स्थायी कमिटी सदस्य गुरुङले दिएपछि पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ। विधान पारित भएपछि मात्रै नेतृत्व चयन प्रक्रिया सुरु हुने प्रवक्ता महराले बताए। नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रले जनाएको छ। शुक्रबारको बन्दसत्रमा निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ र अनुशासन आयोगका प्रमुख टंक राई, लेखा आयोगका प्रमुख पेशल खतिवडाले प्रतिवेदन पेश गरेका थिए।
पुष ११ गतेदेखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार भएपनि एक दिन अगाडि मात्रै महाधिवेशनमा रुपान्तरण गरिएको थियो। प्रथम राष्ट्रिय सम्मेलनका लागि छनोट भएका प्रतिनिधि आठौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा रुपान्तरण भएका हुन्।
माओवादी केन्द्रले चुनावपछि विशेष महाधिवेशन गर्ने प्रचण्डले जानकारी दिए। उनका अनुसार संगठनको रूपान्तरण र विचारलाई अझ विकसित गर्नलाई तीनै तहको चुनावपछि विशेष अधिवेशन गर्नेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्