
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद डा. विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले फुटाएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्न चाहेको आरोप लगाएकी छिन् ।
आइतबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले सबैभन्दा ठूलो पार्टी कहिले फुट्ला र फुटेपछि मन्त्रिपरिषद्मा समावेश गरौँला भनेर प्रधानमन्त्री देउवाले पर्खेर बसिरहेको दाबी गरेकी हुन् ।
‘सबैभन्दा ठूलो पार्टी कहिले फुटला र फुटेपछि सरकार टिकाउन मन्त्रिपरिषद्मा सहभागी गराउला भनेर पर्खेर बस्ने प्रधानमन्त्री हो ? यति कमजोर प्रधानमन्त्री । चिन्ता शेरबहादुरजी कमजोर हुनु भो भनेर होइन, चिन्ता फेरि संसदीय व्यवस्था कमजोर हुन्छ भन्ने हो । यो व्यवस्थालाई कमजोर बनाउने काम नगर्न प्रधानमन्त्रीलाई मेरो अनुरोध छ,’उनले भनिन् ।
सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्ला चलिरहेको भन्दै त्यसको बन्धक नबन्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गरिन् । केपी ओली नेतृत्वको सरकारलाई अप्ठ्यारोमा पार्न पनि त्यस्तै खालको राजनीतिक संयन्त्रको माग भएको दाबी गर्दै उनले अहिले पनि सरकारलाई कमजोर बनाउन त्यस्तै प्रयास भइरहेको बताइन् ।
सांसद पौडेलले राजनीतिक संयन्त्र बनाउने हल्लाकै कारण प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने लज्जाजनक अवस्था आएको बताइन् । संविधानले नचिन्ने राजनीतिक संयन्त्र बनाउने काम गर्न नहुने उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया