काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले बिहीबार संसदमा भ्रष्टाचार, भागबन्डा र चरम राजनीतिकरणका कारण देशको शिक्षा र प्रविधि क्षेत्र कमजोर भएको टिप्पणी गरे । स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका पुनले आफू मन्त्री हुँदा शिक्षा सुधारका प्रयास असफल भएको र तीन अध्यादेश तथा चार नियमावली संसदमा अलपत्र परेको स्मरण गरे ।
पुनले विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा दलीय हस्तक्षेपको विरोध गर्दै प्राज्ञिक र इमानदार व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने बताए। उनले देशको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र अनुसन्धान अपरिहार्य भएको उल्लेख गर्दै युवाको प्रतिभा स्वदेशमै उपयोग गर्न विज्ञान–प्रविधि अनुसन्धान तथा नवप्रवर्तन कोष स्थापना गर्नुपर्ने सुझाव दिए ।
साथै, राजनीतिक दलहरूमा नातावाद, कृपावाद र चाकडीवादको अन्त्य गरी भ्रष्टाचारी र घुसखोरमाथि कारबाही गर्नुपर्नेमा जोड दिए। आगामी २०८४ को निर्वाचनमा विदेशमा रहेका सबै नेपालीलाई भोट दिने व्यवस्था गर्न सरकारसँग माग पनि राखे ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्