काठमाण्डौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न १६ दिन बाँकी रहँदा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार कार्यक्रम तीव्र बनाएका छन् । निर्वाचन आयोगले सोमबारदेखि १८ फागुनसम्म निर्वाचनलाई दृष्टिगत गरी जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न खुला गरेपछि औपचारिक रूपमा देश निर्वाचनमय भएको हो ।
आइतबारसम्म घरदैलो कार्यक्रम र सीमित क्षेत्रमा निर्वाचन प्रचारप्रसार सभामार्फत आफ्ना मुद्दा मतदातालाई बुझाइरहेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले सोमबारदेखि जनसभा गरेर निर्वाचन प्रचारप्रसार अगाडि बढाएका छन् । निर्वाचन आयोगले सभ्य रुपमा चुनाव प्रचार गर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ ।
विघटित प्रतिनिधि सभाका प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीसहित ६८ वटा राजनीतिक दल निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् ।
नयाँ, पुराना दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार १६५ क्षेत्रमा तीन हजार ४८४ उम्मेदवार छन् । स्वतन्त्रतर्फ एक हजार १८७ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित छन् ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्