आरुघाटको जङ्गलमा लुकाइएका पाँच भरुवा बन्दुक बरामद

DaksuMedia दाक्सु मिडिया
|
भदौ ७, २०८३

गोरखा — गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलबाट प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गरेको छ। जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा ती बन्दुक फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको गस्ती टोलीले शनिबार अपराह्न करिब ५ बजे जङ्गलमा खोजतलास गर्ने क्रममा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक अनिल श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले सल्लाको हाँगाले छोपेर राखिएको अवस्थामा बन्दुकहरू भेट्टाएको हो।

प्रहरीका अनुसार बरामद भएका पाँचमध्ये एउटा बन्दुक पुरानो भएर भाँचिएको अवस्थामा छ। बाँकी चार बन्दुक पनि लामो समयदेखि जङ्गलमा लुकाएर राखिएको देखिएको र खिया लागेको अवस्थामा रहेको बताइएको छ।

बन्दुक कसले र किन जङ्गलमा लुकाएर राखेको थियो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनाका सम्बन्धमा थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बरामद हतियारबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *