काठमाडौँ । लुम्बिनी प्रदेशमा सरकार गठन तथा विकास निर्माणका काममा तीन वामपन्थी दलबीच सहकार्य हुने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा (मसाल) बीच यस विषयमा समझदारी बनेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसालका महामन्त्री मोहनविक्रम सिंहले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार गठनमा सहकार्य गर्ने उल्लेख गरिएको छ।
समझदारीअनुसार प्रदेशमा विकास निर्माणका कामलाई अघि बढाउन पनि तीन दलले सहकार्य गर्ने भएका छन्। त्यस्तै राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा समेत सहकार्य गर्ने प्रतिबद्धता विज्ञप्तिमार्फत जनाइएको छ।
यसअघि साउन ९ गते एमाले र नेकपाबीच विभिन्न प्रदेश सरकारको नेतृत्वका विषयमा शीर्ष तहमा सहमति भएको थियो। त्यसैको निरन्तरताका रूपमा लुम्बिनीमा मसाललाई समेत समेटेर सहकार्यको दायरा विस्तार गरिएको हो।
लुम्बिनी प्रदेशमा सरकार गठनका लागि बनेको यो नयाँ समीकरणले प्रदेशको आगामी राजनीतिक संरचनामा समेत प्रभाव पार्ने देखिएको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्