रौतहटमा व्यवसायीद्वारा आत्मदाह प्रयास: ३५ प्रतिशत शरीर जल्यो, काठमाडौँ रिफर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ३१

गरुडा (रौतहट) । रौतहटको गरुडामा एक युवा व्यवसायीले आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गम्हरिया निवासी २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार मध्यराति आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएका हुन्।

स्थानीय झाझ पुल नजिक होटल व्यवसाय सञ्चालन गर्दै आएका सहनी केही समयदेखि मानसिक तनावमा रहेको बुझिएको छ। उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर आत्मदाहको प्रयास गरेको वडा अध्यक्ष राजेश सहनीले जानकारी दिए। तीन सन्तानका पिता गौतमले सोही होटलबाट परिवारको गुजारा चलाउँदै आएका थिए।

घटनालगत्तै उद्धार गरी उनलाई स्थानीय बेटर नेपाल अस्पताल पुर्‍याइएको थियो। त्यहाँ प्राथमिक उपचार गरेपछि थप उपचारका लागि काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। चिकित्सकका अनुसार उनको शरीरको करिब ३५ प्रतिशत भाग जलेको छ र अवस्था गम्भीर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *