तनहुँमा सुन्तलाको उकालो उत्पादन, किसानको आम्दानी ४५ करोड नाघ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

दमौली — यस वर्ष तनहुँका कृषकले सुन्तला बिक्रीबाट ४५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेका छन्। कृषि ज्ञान केन्द्रका अनुसार ५८२१.९ मेट्रिकटन सुन्तला बिक्री भएको छ भने कुल उत्पादन ११८२१.७ मेट्रिकटन पुगेको थियो।

म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले मात्रै ९० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्। विसं २०५२ देखि व्यावसायिक खेती गर्दै आएका उनी भिरालो जमिनलाई सुन्तला बगैँचामा रूपान्तरण गरेर सफल बनेका हुन्।

यस्तै, व्यास नगरपालिका–१३ बेनीकोटका दलबहादुर थापाले १६ लाख रुपैयाँको सुन्तला बेचेका छन्। विदेशबाट फर्किएका अर्का कृषक गिरबहादुरले पनि यस वर्ष ३ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन्।

जिल्लाभर १६७० हेक्टर क्षेत्रमा सुन्तलाखेती रहेकामा ९७७ हेक्टरमा उत्पादन भएको छ। उत्पादन बढ्दै जाँदा किसानको आकर्षण पनि बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

तनहुँमा उत्पादित सुन्तला मुख्यतः काठमाडौँ, पोखरा र नारायणगढका बजारमा बिक्री हुने गरेको छ। व्यापारीहरू बगैँचासम्मै पुगेर खरिद गर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *