सोलुखुम्बु । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले सोलुखुम्बुमा उम्मेदवार चयनलाई लिएर आन्तरिक छलफल तीव्र बन्दै गएको छ । यही क्रममा पार्टीभित्रबाट युवा नेतृत्वलाई अघि बढाउनुपर्ने माग चुलिँदै जाँदा युवा नेता वीर उदास श्रेष्ठले प्रतिनिधि सभा सदस्यका लागि आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।
पार्टीभित्र पुस्तान्तरणलाई व्यवहारमा उतार्नुपर्ने आवाज बलियो बन्दै गएको बेला श्रेष्ठको दावेदारीलाई युवाहरूको सामूहिक दबाबका रूपमा हेरिएको छ । नेतृत्व परिवर्तन र निर्णय प्रक्रियामा युवाको प्रभावकारी सहभागिता नभए कार्यकर्ता राजनीतिबाट विमुख हुँदै जाने उनको तर्क छ ।
श्रेष्ठले नेतृत्वले पार्टीलाई सीमित समूहको नियन्त्रणमा राख्दा संगठन कमजोर हुँदै गएको भन्दै समयमै रुपान्तरण नगरे एमालेजस्ता पुराना दलहरूको भविष्य जोखिममा पर्न सक्ने बताए । युवाको भरोसा जित्न परिणाममुखी राजनीति र जिम्मेवारी हस्तान्तरण आवश्यक रहेको उनको धारणा छ ।
अनेरास्ववियु हुँदै युवा संघ नेपालबाट राजनीति यात्रा तय गरेका श्रेष्ठ जिल्लामा संगठन विस्तार, आन्दोलन तथा निर्वाचनका विभिन्न अभियानमा सक्रिय रहँदै आएका छन् । उनी लामो समयदेखि पार्टी गतिविधिमा निरन्तर देखिँदै आएका युवा नेतामध्ये एक हुन् ।
उम्मेदवार छनोटका लागि एमाले सोलुखुम्बुले भोलि विस्तारित बैठक बोलाएको छ । बैठकले प्रतिनिधि सभा र समानुपातिकतर्फका उम्मेदवार सिफारिसबारे निर्णय गर्ने बताइएको छ । समानुपातिकतर्फ जिल्ला अध्यक्ष डम्बरकुमार बास्तोलाको नाम अगाडि आएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्