एमाले महाधिवेशनका लागि प्रतिनिधि सूची अन्तिम चरणमा, २५ गतेभित्र सम्पूर्ण कार्ड छपाइ सम्पन्न हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २३

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी तथा सचिव माधव ढुंगेल नेतृत्वको टोली दिनरात प्रतिनिधि विवरण अद्यावधिक गर्न व्यस्त रहेको विभागले जनाएको छ।

विभाग प्रमुख अधिकारीका अनुसार आगामी महाधिवेशनका लागि २ हजार १ सय ५४ प्रतिनिधि निर्वाचनमार्फत चयन भइसकेका छन्। त्यससँगै केन्द्रबाट १ सय ८ जना प्रतिनिधि मनोनीत गरिँदैछन्। मनोनीतसहित कुल प्रतिनिधि संख्या २ हजार २ सय ६२ हुने उनले जानकारी दिए।

घरफर्क अभियानमार्फत आएका तत्कालीन नेकपा (एस)का तीन जना कार्यकर्ताले समेत प्रतिनिधि बन्न माग गर्दै निवेदन दिएका छन्। यसबारे निर्णय पार्टी सचिवालयले गर्ने बताइएको छ।

धनकुटा र ओखलढुंगामा प्रतिनिधि छनोटप्रक्रियामा देखिएको समस्या समाधान भइसकेको विभागले जनाएको छ। ती जिल्लामा अन्तरपार्टी निर्देशन १३ विपरीत प्रतिनिधि छनोट भएकाले केन्द्रले प्रक्रिया रद्द गरी पुनः मापदण्ड अनुसार सर्वसम्मत प्रतिनिधि चयन गराएको हो। साथै अन्य तीन जिल्लामा परेको उजुरीको टुंगो लगाउने काम जारी रहेको अधिकारीले बताए।

केही निर्वाचित प्रतिनिधिहरूमाथि पनि मापदण्ड नपुगेको उजुरी परेकाले तीबारे छानबिन भइरहेको र मापदण्ड अपुग भएकालाई कार्ड नबनाइने संगठन विभागको तयारी रहेको छ। “हामीले ७० प्रतिशतभन्दा बढी प्रतिनिधिको विवरण प्रमाणीकरण गरिसकेका छौँ,” अधिकारीले जानकारी दिए।

महाधिवेशनको बन्द सत्रमा प्रतिनिधि बाहेक सल्लाहकार परिषद्का ३ सय ५१ सदस्य सहभागी हुनेछन्। परिषदका ३ सय ७६ सदस्यमध्ये २५ जना प्रतिनिधिका रूपमा निर्वाचित भएकाले बाँकीलाई सहभागीको रूपमा प्रवेशको व्यवस्था मिलाइएको हो। यसरी प्रतिनिधि तथा सहभागी गरी कुल २ हजार ६ सय १३ जना महाधिवेशनमा उपस्थित हुनेछन्।

यही क्रममा प्रतिनिधिहरूका परिचयपत्र छपाइ पनि तीव्र गतिमा भइरहेको छ। हालसम्म ७० प्रतिशत कार्ड छपाइ सकिएको र मंसिर २५ गतेभित्र सबै कार्ड र प्रतिनिधि अद्यावधिक कार्य पूरा हुने केन्द्रीय कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *