सोलुखुम्बु । महाकुलुङ गाउँपालिका १ खिरौलेमा अवस्थित ङोङ्गा थेक्छोक छ्योलिङ गुम्बामा ध्यान केन्द्र भवन उद्घाटन गरिएको छ ।
बिहिबार नेपालका लागि भारतीय राजदुत महामहीम नवीन श्रीवास्तव ज्यूको प्रमुख आतिथ्यता तथा महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी ध्यान केन्द्र भवनको उद्घाटन गरिएको हो ।
उक्त ध्यान केन्द्रको निर्माणले यस क्षेत्रको धार्मिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक तथा शारीरिक स्वास्थ्य अवस्थाको समेत सुधार हुने अपेक्षा राखिएको गाउँपालिकाले जनाएको छ ।
महाकुलुङ गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला, भारतीय राजदुतावास ज्इऋ अविनाश कुमार सिंह, सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बुका प्रमुख नाम्गेल जाङ्बु शेर्पा, सोताङ गाँउपालिका अध्यक्ष खिलाराज वस्नेत, थुलुङ दुधकोशी गाउँपालिकाका उपाध्यक्ष सविता राई लगायतको उपस्थिति रहेको थियो ।
भारतीय राजदुतावास र महाकुलुङ गाउँपालिकाको संयुक्त लगानीमा निर्मित सो भवनको कूल लागत रकम ३ करोड ८२ लाख ९८ हजारको रहेको गाउँपालिकाले जनाएको छ । २०८० बैशाख ७ गते योजना सम्झौता भई २०८१ जेठ २८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा म्याद थप गरी आर्थिक वर्ष २०८१/८२ मा निर्माण सम्पन्न गरिएको हो । भवनको कूल लागत मध्ये गाउँपालिकाको २० प्रतिशत र भारतीय राजदुतावास, नेपालको ८० प्रतिशत लगानी रहेको छ ।
गुम्बा प्रमुख खेन्पो पेमा दोर्जे शेर्पा, गुम्बा व्यवस्थापन समितिका सचिव आचार्य नुर्बु शेर्पा लगायतका धार्मिक गुरुहरुबाट दीप प्रज्वलन तथा मंगला चरण पाठ गरी कार्यक्रम उद्घाटन गरिए पश्चात प्रमुख अतिथि तथा अध्यक्षबाट ताम्रापत्र अनावरण गरी भवन उद्घाटन गरिएको थियो ।
कार्यक्रममा निर्माण कम्पनी एरिसा हिम शिखर जेभीलाई सम्मानपत्र प्रदान गरिएको छ । गाउँपालिकाका तर्फबाट अध्यक्ष सूर्य बहादुर कुलुङले थप सहयोगको लागि भारतीय राजदुत मार्फत नेपालका लागि भारतीय राजदुतावासमा योजना माग गरी मागपत्र पेश गर्नु भएको थियो भने प्रमुख अतिथि श्रीवास्तवले आवश्यकता हेरेर सहयोग गर्ने वाचा व्यक्त गर्नुभयो ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्