मुस्ताङ — बर्खा सकिएर हिमाली क्षेत्रमा चिसो मौसम सुरु हुन थालेको संकेत दिने यार्तुङ पर्व मुस्ताङको खिङ्गामा विशेष उत्साहका साथ मनाइएको छ।
बारागुङ मुक्तिक्षेत्र–१ स्थित खिङ्गा गाउँबाट सुरु भएको पर्वमा स्थानीय महिला तथा पुरुष मौलिक पोसाकमा सजिएर सहभागी भए। पुरुषहरू घोडामा सवार हुँदै अघि बढ्दा महिलाहरूले स्थानीय भाषाका गीत गाउँदै मुक्तिनाथसम्म यात्रा गरे।
मुक्तिनाथ मन्दिरमा दर्शन गरेपछि टोली नजिकैको गुम्बामा पुगेको थियो। त्यहाँ स्थानीय गीतसँगै स्याब्रो नाच प्रस्तुत गरिएको थियो। त्यसपछि रानीपौवा बजारमा घोडचढी कला प्रदर्शन गर्दै पर्व मनाइएको स्थानीयले बताएका छन्।
साँझतिर महिला–पुरुषले सामूहिक रूपमा गीत गाउँदै र नाच प्रस्तुत गर्दै गाउँ फर्किएपछि खिङ्गाको यार्तुङ सम्पन्न भएको हो।
स्थानीय भाषामा ‘यार’ले बर्खा र ‘तुङ’ले अन्त्य जनाउने भएकाले यार्तुङलाई वर्षायामको बिदाइ र हिउँदको स्वागतका रूपमा लिइन्छ। स्थानीयका अनुसार यो पर्वले पुरानो घोडचढी परम्परा जोगाउनुका साथै पुस्ताबीच संस्कृति हस्तान्तरण र सामुदायिक एकतालाई बलियो बनाउँदै आएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्