रास्वपाले रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १५

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न प्रतिस्पर्धीमा रहेका ९ आकांक्षीमध्ये एक जनाको नाम आज घोषणा गर्ने भएको छ।

पार्टीका प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार आज उम्मेदवार चयन प्रक्रियाको अन्तिम दिन हो। रास्वपाबाट उपनिर्वाचनमा उम्मेदवार बन्न आवेदन दिएकामध्ये पार्थिवेन्द्र उपाध्याय, उमा अधिकारी, सुलभ खरेल, लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता (जेबी), कुसुम महर्जन, रचना क्षेत्री र मधु अर्याल ९ जना प्रारम्भिक सूचीमा छन्।

आज यिनैमध्ये एकजनालाई छनोट गरिने भएको हो। अहिले बिहान ११ बजे ९ जनानै निवेदक पार्टी सभापति रवि लामिछानेलाई भेट्न नक्खु कारागार जाने, त्यसपछि बिहान ११:३० बजे पार्टी कार्यालयमा सचिवालय बैठक बस्ने र अपराह्न ४:३० बजे उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रवक्ता झाले जानकारी दिए।

उम्मेदवार छनोटका लागि रास्वपाको निर्वाचन आयोगले साउन ७ देखि २१ गतेसम्मको समय तोकेर आवेदन आह्वान गरेको थियो। आवेदन दिएकामध्ये रास्वपाले प्रारम्भिक सूचीका रूपमा साउन २२ गते ९ जनाको नाम सार्वजनिक गरेको थियो। प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचन हुँदै छ।

२०७९ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र रिक्त छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *