
सोलुखुम्बु । महाकुलुङ गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०८२/८३ का लागि संघीय समपूरक तथा विशेष अनुदान वजेट प्राप्त भएको छ । संघीय समपूरक अनुदान तर्फ बुदुम खोला प्रिस्ट्रेस मोटरेबल पुल निर्माणका लागि ९० लाख रुपैयाँ वजेट विनियोजन भएको छ भने विशेष अनुदान तर्फ महाकुलुङ आधारभूत अस्पताल व्यवस्थापन साथै ऋइभ्ल्ऋ निर्माणका लागि चालुतर्फ ७५ लाख र पूँजीगत तर्फ ६९ लाख वजेट प्राप्त भएको हो ।
विशेष अनुदान तर्फ आर्थिक वर्ष २०८१/८२ का लागि ५० लाख प्राप्त भएको थियो । संघीय समपूरक अनुदान गाउँपालिकालाई पहिलो पटक तथा विशेष अनुदान दोस्रो पटक प्राप्त भएको गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यपालिकाले निर्णय गरी अनलाइन प्रणालीबाट राष्ट्रिय योजना आयोगको सिस्टममा प्रविष्टी गरेपछि दुवै अनुदान प्राप्त हुने गर्दछ । अध्यक्ष कुलुङले दुवै अनुदान प्राप्त गर्नको लागि राष्ट्रिय योजना आयोगमा थुप्रै पटक धाउनु परेको भन्दै समयमा नै सिस्टमा योजना इन्ट्री गर्ने कर्मचारीहरुलाई पनि धन्यवाद दिनुभयो ।
अर्थ मन्त्रालयले विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१ र समपुरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ तर्जुमा गरी लागू गरेको छ । जस अनुसार राष्ट्रिय योजना आयोगले प्रस्ताव आव्हान गरी सूचना प्रकाशन गरेको थियो ।
पालिका भवन निर्माणका लागि लागत साझेदारी स्वीकृत
महाकुलुङ गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङले गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि स्थानीय पूर्वाधार विभाग (डोली) बाट लागत साझेदारी स्वीकृत भएको जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि गाउँपालिकाको चालिस तथा विभागको साठी प्रतिशत लागत साझेदारी रहने व्यवस्था रहेको छ । अध्यक्ष कुलुङका अनुसार चालु आवमा नै करिब १ करोड रुपैयाँ वजेट प्राप्त हुने गरी प्रक्रिया अगाडी बढाइएको छ ।
सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभागबाट परियोजना स्वीकृत भएकोमा अध्यक्ष कुलुङले उप-प्रधान तथा सहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया