
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ स्थित सिवाई बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको छ ।
सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नं.को बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो ।
इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताएका छन ।
असई मेहताका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ । न्यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान बेल्टार रूटमा चल्ने गरेको असई मेहताले बताएका छन् ।
चौदण्डीगढी नगरपालिका ५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा बाढी आउँदा बर्खायाममा यहाँका जनताले प्रत्येक वर्ष सास्ती भोग्नु परेको छ ।
यही ठाउँमा बनेको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस क्षेत्रका बासिन्दा बर्खायाममा सास्ती भोग्न बाध्य भएका हुन् ।
वर्षायाम नजिकिँदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेर नदी तर्न बाध्य हुन्छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया