
काठमाण्डौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई करोडौं असुल्ने गिरोहसँग साँठगाँठ गरेको आरोप लागेका एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी र नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे यतिबेला केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धारामा छन् ।
सोही अभियोग लागेका पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण भने ३० लाख धरौटी बुझाएर बाहिरै बसी मुद्दाको पुर्पक्ष गरिरहेका छन् । खाँण छुट्दा पनि रायमाझी र पाण्डे जेलजीवन व्यतीत गर्न बाध्य छन् ।
उनीहरूले पनि जेलबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गरिरहेका छन् । उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व जोडिएको यस प्रकरणका यी दुई पात्रको जेलजीवन र त्यहाँको दैनिकी रोचक छ ।
स्रोतका अनुसार अन्य कैदीबन्दीले ‘मन्त्रीज्यू’ भनेर सम्बोधन गर्दा टोपबहादुरलाई ‘खिसीट्युरी’ गरेको भान हुने रहेछ । जेलमा रायमाझीलाई परिवारका सदस्य र एमाले तथा माओवादीका केही नेता भेट्न पुग्छन् ।
रायमाझी अन्य कैदीबन्दीजस्तै सबेरै उठ्छन् । पूजापाठमा उनको त्यति रुचि छैन । कालो चिया पिउँछन् । द्वन्द्वकालमा माओवादी युद्ध लडेका रायमाझी सबैसँग हाँसेरै बोल्छन् ।
कारागार व्यवस्थापनका अनुसार रायमाझीलाई प्रोस्टेट, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या छ ।
‘मलाई रोगले त सतायो नै, खाँदै नखाएको विष लाग्यो, एउटा फोटोको भरमा मुद्दा चलाइयो,’ रायमाझीले शुभेच्छुकहरूसँग भन्ने गरेका कुरा उद्धृत गर्दै एक कर्मचारीले भनेका छन्, ‘अवैधरूपमा करोडौं कमाउनेहरू सत्तामा छन्, म बबुरो जेलमा परें ।’
उनले लामो समयसम्म मुद्दाको अन्तिम किनारा नलगाएर आफूलाई थप पीडा दिने काम भएको गुनासो गर्दै आएका छन् । अर्घाखाँची जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ९निलम्बित० रायमाझीले जेलमा भेट्न पुगेका नेताहरूलाई आफ्नो राजनीतिक जीवन बर्बाद पारिएको गुनासो गर्ने गरेका छन् ।
गृह जिल्लाका नेताहरू उनलाई भेट्न पुगे पनि एमालेका ठूला नेता खासै पुगेका छैनन् ।
माओवादीकै सचिव देवेन्द्र पौडेल पनि केही समयअघि उनलाई भेट्न पुगेका थिए । पुरानो साथीको नाताले स्वास्थ्य अवस्था बुझ्न गएको पौडेलले बताए ।
मुद्दाको छिनोफानो छिटो भइदिए हुन्थ्यो भन्ने रायमाझीको चाहना रहेको भेटेर फर्किएकाहरू बताउँछन् ।
पूर्वसचिव टेकनारायण पाण्डे पनि सुन्धारा कारागार (जगन्नाथ देवल) मै छन् । त्यहाँका जेलर कृष्णबहादुर कटुवालका अनुसार पूर्वसचिव पाण्डे बिहानै उठ्छन् । नुवाइधुवाइ गर्छन् । पूजापाठ गर्छन् । गीता र वेदको किताब किनेर ल्याएका छन्, दैनिक पाठ गर्छन् ।
उपराष्ट्रपति कार्यालयमा काम गरिरहेका बेला २०८० वैशाख २० गते पक्राउ परेका उनले राजनीतिक व्यक्तिलाई छुटाएर कर्मचारीलाई जेल हालिएको भनेर गुनासो गर्ने गरेका छन् ।
जेलका कर्मचारीले पनि पाण्डेलाई ‘सचिवज्यू’ भनेरै सम्बोधन गर्छन् । २०८० असार १ गते जिल्ला अदालत काठमाडौंले उनीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
उनले जेलभित्रैबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए । तर, सर्वोच्चले कारण देखाउ आदेश मात्र जारी गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया