×

सांसद्लाई प्रधानमन्त्रीको प्रतिप्रश्न, योजना रद्द गर्नेले नै प्रगति खोज्ने ?

फाल्गुन ४, २०८१ | दाक्सु मिडिया

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न सोध्ने सांसदलाई नै प्रतिप्रश्न गरेका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रश्न सोधेका थिए ।

सांसद ज्वालाले विगतमा प्रधानमन्त्री ओलीकै पालामा तामझामका साथ शिलान्यास गरिएको रणनीतिक सडकहरू र हरेक पालिकामा शिलान्यास गरिएका अस्पताल बजेटका भावमा अलपत्र रहेको विषयमा प्रश्न सोधेका थिए ।

त्यसपछि जवाफ दिने क्रममा प्रधानमन्त्रीले भौतिक पूर्वाधारमन्त्री रहेका वेला ज्वालाले नै कार्यक्रम रद्द गरेको भन्दै प्रतिप्रश्न गरेका छन् । ‘अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरी सोको निर्माण सुरु गरिएको थियो । तर त्यसपछि म सरकारबाट बाहिरिएँ । त्यसपछिको सरकारले निरन्तरता दिएन र निर्माण कार्य रोकियो’, उनले भने, ‘प्रश्नकर्ता माननीय म पछिको सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो क्यारे। कार्यक्रम रद्द गर्नेले फेरि किन पूरा भएन भनेर सोध्ने, प्रगति सोध्ने र प्रश्न गर्ने अनौठो संस्कार छ।’

प्रधानमन्त्री ओलीले ती सबै सडक र अस्पताल निर्माण गर्न ठूलो बजेटको आवश्यकता रहेको भन्दै त्यसको व्यवस्था भएपछि अघि बढ्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: