काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा आत्मनिर्भर भएको घोषणा गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेमनारायण कँडेलले बताए । नेपालीलाई प्रतिवर्ष आवश्यक पर्ने ४८ वटा अण्डामध्ये नेपालको उत्पादन प्रतिव्यक्ति ५५ वटा पुगेको छ । मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो आवश्यक पर्नेमा नेपालको उत्पादन १८ किलोसम्म रहेको छ ।
त्यस्तै माछा प्रतिवर्ष प्रतिव्यक्ति १४ किलो आवश्यक पर्नेमा नेपालमा ३।५ किलो उत्पादन भएको छ । यस्तै दूधमा आत्मनिर्भर हुन वार्षिक प्रतिव्यक्ति न्यूनतम ९१ लिटर आवश्यक पर्नेमा नेपालमा ७९ लिटरमात्र उपलब्ध छ ।
घोषणा कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले थप कृषि उपजमा पनि आत्मनिभरता घोषणा गर्ने बताइन् ।
आगामी पाँच वर्षमा धेरै कृषि उत्पादनमा आत्मनिर्भर भएर मुलुक निर्यातको अवस्थामा पुग्ने उनको दावी छ ।यो सरकार बनेपछि कृषि उत्पादन व्यवसायिक भएको, कृषिको आधुनिकरण भएको र उत्पादन बढेको मन्त्री अर्यालले दावी गरिन् ।
दूध र मासुको क्षेत्रमा पनि छिट्टै आत्मनिर्भर घोषणा गरिने तथा सरकार कृषि विकासका लागि तल्लीन रहेको उनको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया