काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आज (बुधबार) पनि सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासमा परेको मुद्दामा सुनुवाइ नसकिएपछि मंगलबार ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
हिजो सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा, मुरारी सापकोटा, सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए । बहसका क्रममा उनीहरुले लामिछाने निर्दोष भएको दाबी गरेका थिए ।
लामिछाने पक्षको बहसपछि सरकारको तर्फबाट महर्जन र घिमिरेले जवाफ दिएका थिए । त्यसपछि गौसला २६ का तर्फबाट बहस सुरु भएको थियो । आज उनीहरुकै बहसबाट सुनुवाइ सुरु हुनेछ । त्यसपछि लामिछानेको तर्फबाट जवाफ दिइनेछ । उक्त जवाफ आएपछि न्यायाधीशद्वयले फैसला सुनाउनेछन् ।बुधबार बहसले निरन्तरता पाउने र अदालतले फैसला दिने एक कानून व्यवसायीले जानकारी दिएका छन् ।
बलात्कार मुद्दामा गत पुस २५ गते जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजाय सुनाएको थियो । सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । यता न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । दुवै मुद्दाको एकसाथ सुनुवाइ भइरहेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया