×

रेशम चौधरीविरुद्धको मुद्दामा आज पनि बहस

जेष्ठ २, २०८० | दाक्सु मिडिया

कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दामा आज पनि बहस हुने भएको छ । यो मुद्दा सोमबार हेर्दाहेर्दैमा राखिएको थियो । 

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको उक्त मुद्दामा बहस नसकिएपछि पुनः हेर्दाहेर्दैमा राखिएको हो । 

यसअघि कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् । जेलबाटै चौधरीले उच्च अदालत दिपायलको फैसलालाई बदर गरी पाउन दिएको पुनरावेदनको रिटमाथि सर्वोच्च अदालतमा बहस जारी छ ।  

यसअघि प्रतिवादी रेशमलाल चौधरी लगायत १४ जना प्रतिवादीको तर्फबाट सफाइ पाउनुपर्ने भन्दै बहस भएको थियो । प्रतिवादीतर्फका अधिवक्ताहरुले घटना राजनीतिक भएको कारण राजनीतिक तबरबाटै हल गर्नुपर्ने र घटनामा संलग्न नभएका व्यक्तिहरुलाई मुछिएको भन्दै उनीहरुलाई सफाइ दिनुपर्ने माग गरिएको थियो । 

जवाफी बहसमा सरकारी वकिलका तर्फबाट घटनाको योजनाकार रेशमलाल चौधरी र लक्ष्मण थारु नै रहेको र अन्य व्यक्तिहरुको संलग्नतामा घटना गराइएको भन्दै उनीहरुलाई हदैसम्मको सजाय हुनुपर्ने र कैलाली जिल्ला अदालत तथा उच्च अदालत दिपायलको फैसला सही भएको बहस गरिएको थियो । तर सोमबारको बहसमा समय अभाव भएपछि मंगलबारका लागि नै पेसी तोकिएको थियो ।

२०७७ फागुन १२ गते सर्वोच्च अदालतमा दर्ता भएको उक्त मुद्दा पटकपटक हेर्न नभ्याइनेमा परेको थियो । गत वैशाख २५ गते पेसीमा चढ्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जेठ १ गतेका लागि हेर्दाहेर्दैमा राखेका थिए । तर सोमबारको सुनुवाइमा पनि बहस नसकिएपछि अब जेठ २ गते मंगलबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: