धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिरोले घर पुर्दा घाइते भएकालाई सडक अवरुद्ध भएका कारण उपचारका लागि अस्पताल लैजान समस्या भएको छ ।
लगातारको वर्षाका कारण भेडेटार–६ नम्बर बुधबारे सडक खण्डका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा घाइतेलाई उपचारका लागि लैजान समस्या भएको प्रहरीले जनाएको छ ।
मङ्गलबार राति करिब १२ बजे घर माथिबाट खसेको पहिरोले स्थानीयवासी भीमबहादुर श्रेष्ठको घर पुरिँदा उनीसहित घरमा सुतेका ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
पहिरोले पुर्दा ६० वर्षीय भीमबहादुरसहित उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ, ५४ वर्षीया गणितकुमारी श्रेष्ठ, ३३ वर्षीया उषा श्रेष्ठ, ११ वर्षीय सञ्जाल श्रेष्ठ र २८ वर्षीय चन्द्रकुमार श्रेष्ठलाई उपचारमा लैजान समस्या भएको हो ।
घाइते भेषबहादुर, लीला र गणितकुमारीको अवस्था गम्भीर भए पनि दिउँसोसम्म उनीहरुलाई अस्पताल पु¥याउन सकिएको छैन । स्थानीय स्वास्थ्य संस्थामा उनीहरुको सामान्य उपचार भइरहेको छ ।
घाइतेलाई सडकबाट उपचारका लागि पठाउन समस्या भएपछि नेपाली सेनासँग समन्वय गरेर हेलिकप्टर मगाइएको र केही समयपछि घाइतेको थप उपचारका लागि पठाइने तयारी भइरहेकोे धनकुटाका प्रहरी प्रमुख नकुल पोखरेलले बताउनुभयो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्