काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीमा रहेकाे सनराइज सम्मेलन केन्द्रमा आयोजित विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलकाे बटम थिचेर लोगो अनावरण गरी उद्घाटन गर्नु भएको हो ।
नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको विधान महाधिवेशन सुरु भएको हो। ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।
भेलामा झन्डै छ हजार नेता, कार्यकर्ता सहभागी हुँदैछन् । आउँदो मङ्सिरको दोस्रो हप्ता नेतृत्व चयनका लागि पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरूमध्ये मौलिक विशेषताको भेला मानिएको छ ।
विधान महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने विधान महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ । उद्घाटन सत्रपछि महाधिवेशनको बन्द सत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवम् सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।
विधान महाधिवेशनको दोस्रो दिन भोलि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन पर्सि १७ गते दस्ताबेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसङ्क्षेपीकरण गरिने एमालेले जनाएको छ ।
एमालेले विधान महाधिवेशनमार्फत पहिलो शक्ति नै बन्ने कार्यदिशा बनाउनुका साथै पार्टी छोडेका नेता कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ । नेतृत्वमा ७० वर्षे उमेर हदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र साङ्गठानिक प्रतिवेदनमा समेटर विभाजन रोक्ने लगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ ।
विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेसागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य प्रतिनिधि रहेका छन् ।
कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, स्यानिटाइजर प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्