एमाले विधान महाधिवेशन सकियो, बुटवलमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १७

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सम्पन्न भएको छ । शुक्रवारबाट शुरू भएको महाधिवेशन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पास गर्दै सम्पन्न भएको हो ।

उक्त महाधिवेशनले आफ्नो दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेको छ ।

आइतबार प्रथम विधान महाधिवेशनको समापन सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेका हुन्।

‘महाधिवेशन बुटवलमा गर्नेछौं अत्यन्तै भव्यताका साथ!’, उनले भने । समापनमा अध्यक्ष केपी शर्मा ओलीले ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।  

यसअघि एमालेले आठौं महाधिवेशन पनि बुटवलमै गरेको थियो। एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते गर्ने निर्णय भएको छ।

महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र सानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *