×

अगहनी धानमा रोग र कीराको प्रकोप, चिन्तामा किसान

भदौ २२, २०७८ | दाक्सु मिडिया सम्वाददाता

वीरगन्ज । पर्सामा लगाइएको अगहनी धानको बोटमा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् ।

बेलैमा रोपाइँ गरी खुसी भएका पर्साका किसान धानको बिरुवामा रोग र कीराको प्रकोप देखिएपछि उत्पादन गुम्ने चिन्ताले पिरोलिएका हुन् । सिथब्लाइट रोगका कारण धानको बिरुवा सुक्न र सड्न थालेपछि किसान चिन्तित देखिएका छन् ।

विन्दवासनी गाउँपालिका–१ गर्दौलका रहमान मिया धोवीले मौसमले साथ दिएकाले यस वर्ष चाँडै धान रोपे पनि अगहनी धानको बिरुवामा रोग र कीरा लागेपछि चिन्ता थपिएको बताए । ‘पहिले बढी पानीका कारण खेतमा लगाइएको बीउ मरेर गयो र पछि फेरि बीउ लगाई रोपाइँ सम्पन्न गरेपछि रोग र कीराले धानको बिरुवा नै नष्ट गर्न लागेको छ,’ उनले गुनासो गरे ।

तीन बिघामा लगाइएको सोना मुन्सुली र १५ कठ्ठामा लगाइएको बास्मती धानको बिरुवामा रोग र कीरा लागेको उनको भनाइ छ । 

बहुदरमाई नगरपालिका भौराटाँरका किसान श्रीनारायण महतोले रोपिएको मन्सुली धानको बिरुवाको जरा तथा पात्त पहेंलो भई बिरुवा नै सुक्न थालेको बताए । 

पर्सामा यस वर्ष ३५ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान रोपिएको छ । रोपाइँ भएकामध्ये ७० प्रतिशत धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

पर्साका १४ वटै पालिकामा २४ हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको सोना मन्सुली र बास्मती धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । यो प्रकोप पर्साको विन्दवासनी, धोवनी, पटेर्वासुगौली, कालिकामाई गाउँपालिका र बहुदरमाई, पर्सागढी तथा पोखरिया नगरपालिकामा देखिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: